न्यूयोर्क राज्यको इस्लामबर्गमा बम आक्रमण गर्ने योजना बुनिरहेका तीन युवा र एक किशोर पक्राउ

बम आक्रमण

तस्बिर स्रोत, GREECE POLICE DEPT

तस्बिरको क्याप्शन, समातिएका तीन युवाहरूलाई बुधवार अदालतमा उपस्थित गराइँदैछ।
Published

अमेरिकाको न्यूयोर्क राज्यको एउटा इस्लामिक समुदायमा बम हमला गर्ने योजना गरिरहेको आरोपमा तीन युवा र एक किशोरलाई त्यहाँको प्रहरीले पक्राउ गरेका छन्।

अनुसन्धानकर्ताहरूले आक्रमणको योजनासँग सम्बन्धित विभिन्न स्थानको खोजतलासपछि घरमै बनाइएका तीनवटा बम, बन्दुक र राइफल फेला पारेका छन्।

अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइले भेटिएका ती बमहरूको परीक्षण गरिरहेको छ।

ती आरोपितहरू करीव एक महिनादेखि सन् १९८० ताका एक जना पाकिस्तानी धर्म गुरुले स्थापना गरेको इस्लामबर्गमा हमला गर्ने योजनामा संलग्न बताइएका छन्।

खुलासा

षड्यन्त्रमा संलग्नमध्येका एक १६ वर्षीय किशोरले विद्यालयमा सो षड्यन्त्रबारे केही सूचना चुहाएको उनका एक जना साथीले सुनेपछि उसैले दिएको जानकारीको आधारमा इस्लामबर्गमा बम हमला गर्ने उनीहरूको षड्यन्त्रको खुलासा भएको हो।

इस्लामबर्ग आतंककारीहरूको प्रशिक्षण शिविर भएको बताउँदै षड्यन्त्रकारीहरूले बेलाबेलामा त्यसलाई निशाना बनाउने गरेका छन्।

समातिएका तीन युवाहरूलाई बुधवार अदालतमा उपस्थित गराइँदैछ।

कसरी बनाए हतियार

१८ वर्षीय एन्ड्रु क्रिशेल, १९ वर्षीय भिन्सेन्ट भेट्रोमिल र २० वर्षीय ब्रायन कोलानेरीमाथि आपराधिक प्रयोजनका लागि आफूसँग हतियार राखेको र आपराधिक षड्यन्त्र रचेको आरोप लागेको छ।

एक जना १६ वर्षीय किशोर पनि उनीहरूसँग आपराधिक गतिविधिमा संलग्न भएको बताइएको छ।

प्रहरीका अनुसार उनीहरूमध्ये कम्तिमा ३ जना ब्वाय स्काउट थिए।

अनुसन्धानकर्ताहरूका अनुसार सो समूहले डक्ट टेप, ठूला जारहरू र किल्लाहरूको प्रयोगबाट कम्तिमा ३ वटा विस्फोटक सामग्रीहरू तथा अन्य क्षेप्यास्त्रहरू समेत बनाएका छन्।

१६ वर्षीय किशोरको घरबाट ती हतियारहरू बरामद गरिएका थिए।